बिजयखर्कमा एकैसाथ चार पक्की भवन उद्घाटन,स्थानीय हर्षित

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा चार वटा पक्की भवन एकैसाथ उद्घाटन गरिएको छ । वडा कार्यालय, स्वास्थ्य चौकी, चम्पावती मावि र महिला समूहको भवन एकै साथ नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवि राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

विजयखर्कस्थित वडा कार्यालयको प्राङ्गणमा सोमबार आयोजना गरिएको कार्यक्रममा कम्युटर ल्याब, सरस्वती मन्दिर, विद्यार्थीका लागि नियमित वितरन गरिने दिवा खाजा तथा टिफिन क्यारी र छात्राका लागि स्यानिटरी प्याडसहितको कार्यक्रम उद्घाटन गरिएको हो ।

नगरप्रमुख दीपनारायण रिजाल र नगरउपप्रमुख विणादेवी राईले संयुक्त रुपमा पानसमा बत्ती बालेर नौँवटा कार्यक्रमको उद्घाटन गर्नुभएको हो । नगरपालिकाको ७० लाखको लागतमा सञ्जिव निर्माण सेवा प्रा.लि.ले वडा कार्यालय भवन निर्माणको काम सम्पन्न गरेर निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर विश्वकर्माले वडाध्यक्ष वीरेन्द्रप्रसाद ढकाललाई उक्त भवनको चाँबी हस्तानतरण गर्नुभएको थियो ।

नगरपालिकाको एक करोड ७० लाख लागतमा पुस्पान्जली कन्ट्रक्सन प्रा.लि. काठमाडौँले निर्माण गरेको स्वास्थ्य चौकी भवनको चाँबी पनि सम्बन्धित व्यक्तिलाई हस्तानतरण गरिएको छ । यता, राष्ट्रिय पुनः निर्माण प्राधिकरणको ७२ लाख र नगरपालिकाको रु २८ लाखको निर्माण गरिएको चम्पावती माविमा निर्माण गरिएको भवनको चाँबी पनि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नव निर्मित विद्यालय भवनभित्र स्थापना गरिएको कम्प्युटर ल्याब र साइन्स ल्याबको स्थापना गरिएको छ भने, विद्यालयको प्राङ्गणमा सरस्वती मन्दिरको स्थापना गरिएको छ । महिला सामुदायिक भवन निर्माणका लागि विभिन्न निकायबाट विभिन्न समयमा गरी पाँच लाख र प्राप्त भएको वडा सदस्य मनिषा खनालले बताउनुभयो ।

संयुक्त रुपमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने सातजना जग्गादातालाई सम्मानसमेत गरिएको छ । वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुहुने सबै जग्गादातालाई नगरप्रमुख रिजाल र राईले ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

वडा कार्यालय भवन निर्माणका लागि वडाध्यक्ष ढकालले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । यस्तै, स्वास्थ्य चौकी भवन निर्माणका लागि चन्द्रकुमारी पोखरेलले पनि पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको वडा कार्यालयले जनाएको छ ।

नगरपालिकाले विजयखर्कमा एकैसाथ आयोजना गरेको नौँवटा कार्यक्रमको उद्घाटनमा स्थानीय बासिन्दाको समेत उल्लेख्य उपस्थिति रहेको थियो । जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायत सहभागी कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुतिसमेत रहेको थियो ।

भौतिक पूर्वााधार निर्माणमा सबैभन्दा अगाडि देखिएको उक्त वडामा सम्पूर्ण सुविधासहितका नयाँ भवनहरु निर्माण सम्पन्न गरेर सञ्चालनमा आएपछि स्थानीय सरकारको अनुभुति भएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

पन्ध्र वडा रहेको यो नगरपालिकामा यस वर्ष भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । जिल्लाको दश स्थानीय तहमध्ये सबैभन्दा ठूलो यो नगरपालिकामा यस वर्ष पन्ध्रमध्ये एघारवटा वडामा एउटै किसिमको भवन निर्माण भइरहेको छ ।

एउटा वडाका लागि ७० लाखका दरले बजेट विनियोजन गरिएको एउटै किसिमको सबै वडा कार्यालय भवन यहि चैत मसान्तभित्र सम्पन्न हुने नगरप्रमुख रिजालले बताउनुभएको छ । नगरपालिकामा निर्माणााधीन वडा कार्यालय भवनहरु निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

सम्बन्धित सबै

Back to top button
Close