२१ गते मुख्यमन्त्री राई दिक्तेल आउँदै

खोटाङ ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई २१ गते जिल्लाको सदरमुकाम दिक्तेल बजार आउनुहुने भएको छ । शनिबार दिक्तेलको सोल्मामा बनाईएको प्राङ्गारिक मल उद्योग तथा वायोग्याँस प्लान्ट उद्घाटन गर्न मुख्यमन्त्री राई दिक्तेल आउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी नगर उपप्रमुख विणादेवी राईले जानकारी दिनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना भए पश्चात सो ठाउँको अनुगमन तथा अवलोकन समेत गरिएको नगरपालिकाले जनाएको छ । प्राङ्गारिक मल उद्योग तथा वायोग्याँस प्लान्ट निर्माण कार्य सकिएकोले २१ गते उद्घाटन कार्यक्रम राखिएको उपप्रमुख राईको भनाई छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, सोल्मा, बाम्राङ, नेर्पालगायत आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो ।

पन्ध्र वडा रहेको नगरपालिकालाई प्राङ्गारिक क्षेत्र बनाउन अर्थमन्त्रालयको विशेष अनुदानवापतको ३ करोड ३२ लाखको लागतमा एकैठाउँमा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

ल्याब परीक्षण, जनशक्ति व्यवस्थापनबाहेक भौतिक संरचनाको काम सम्पन्न भएको र भ्यालिडिटीका लागि ल्याब टेष्ट गराउने र आवश्यक जनशक्ति व्यवस्था गरेर केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

नगरपालिकाका अनुसार मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख र ट्रस भवनलगायतका संरचना निर्माणमा ३९ लाख रुपैयाँ खर्च भएको छ ।
वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री सङ्कलन गरेर प्रशोधन गर्दै प्रतिघण्टा एक हजार केजी प्राङ्गारिक मल उत्पादन गर्न सकिने नगरपालिकाका कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो ।

सम्बन्धित सबै

Back to top button
Close