दिक्तेल नगरपालिकाले स्थापना ग¥यो प्राङ्गारिक मल उद्योग,मुख्यमन्त्री राईद्धारा उद्घाटन

मुख्यमन्त्री शेरधन राईद्धारा उद्घाटन

खोटाङ
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर २ दिक्तेल सोल्मामा कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र निर्माण गरेको छ । ननरपालिकालाई पुर्णरुपमा अगानिक नगर बनाउने उद्देश्यकासाथ शुरु गरिएको प्राङ्गारिक मल उद्योग शनीबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको हो ।
प्लान्ट निर्माण भएसँगै नगरपालिकाको केन्द्र तथा मुख्य व्यापारिक केन्द्र दिक्तेलबजारका घरहरुबाट निस्कने कुहिने फोहोरहरु संकलन गरेर प्लान्टमा ल्याई प्रशोधन गरी कम्पोष्ट मल उत्पादन गरिने नगरपालिकाका कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले जानकारी दिए । उत्पादित मललाई ल्याब परिक्षण गरी फिल्ड परिक्षण गरेर किसानलाई वितरण गरिनेछ ।


जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, सोल्मा, बाम्राङ, नेर्पालगायत आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो ।
कम्पोष्ट प्लान्टसँगै वायोग्यास प्लान्ट पनि भएकाले अब ताजा गोबर मल र दिसाजन्य लेदोबाट वायोग्यास पनि उत्पादन गरिने कलौनीले बताए । वायोग्यास उत्पादनका लागि ताजा गोबर आवश्यक पर्ने भएकाले नगरपालिकाले ३ वटा भैंसी पनि खरीद गरेर प्लान्टको पशु फर्ममा पालिएको छ । दिसाजन्य लेदो भने दिक्तेलबजारका घरहरुको सेफ्टी ट्याङकीवाट निकालेर सक्सन मेशिनले प्लान्टसम्म लानेछ।

नगरपालिकाको ३ करोड ३२ लाख र प्रदेश सरकारको ५० लाख लागतमा तयार गरिएको बहुउद्देश्य प्लान्टसँगै पशु फर्म, स्वीमिङ पुल र हाइटेक प्रविधिमा स्ट्रबरी खेती गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।
कम्पोष्ट प्लान्ट तथा बायोग्यास प्लान्टसँगै पशु फर्म र स्वीमिङ पुल छ । प्लान्टको तल हाइटेक प्रविधिमा स्ट्रबरी खेती गरिएको छ ।
स्थानिय स्तरमै प्राङ्गारिक मल उद्योग स्थापना भएर अर्गानिक खाद्यवस्तु उत्पादन हुने भन्दै आफ्नै नगरपालिकामा प्राङ्गारिक मल उत्पादन भएको देख्दा स्थानिय खुसी व्यक्त गर्छन ।
दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण प्राङ्गारिक क्षेत्र बनाउने तयारी भइरहेको छ । वडा नं–९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथला अर्गानिक वडा घोषित भैसकेका छन ।

सम्बन्धित सबै

Back to top button
Close