आखिर के हो रक्सी भन्ने चीज रक्सीमा रम्दै हराउँछ जिन्दगी ।।।

काठमाडौ । नेपालका पत्रपत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन् भन्ने भान पर्ने अन्तरवार्ता छापिन्छ, रक्सीलाई मन मस्तिष्क तीव्र पर्ने वस्तु जस्तो देखाइन्छ र पाठकलाई के भान पर्न जान्छ भने रक्सी खानु त खासै नराम्रो होइन रहेछ तर रक्सी सेवनले समयभन्दा अघि नै मृत्युको मुखमा गएका नारायण गोपाल, कवि हरिभक्त कटुवाल आदिको रक्सी पिउने बानी र त्यसले जीवनमा परेको नराम्रो असरबारे प्रायः कोही बोल्न चाहँदैन। ‘पोलिटिकली इन्करेक्ट’ भइएला कि भनेर त्यसमाथि पनि केही चिकित्सकहरुले दिनमा एक पेग रक्सी खानु त स्वास्थ्यका लागि फाइदा गर्छ भनेपछि त धेरै मानिसहरुलाई निउँ नै भएको छ। युवा पिँढीले हामीले रक्सी खाएको के पो नराम्रो हुन्छ र भन्ने मानसिकताबाट प्रेरित हुन्छन् नै। वास्तवमा रक्सीले कतिको जीवन, स्वास्थ, पैसा खराब गरिरहेको छ भनेर बुझ्न धेरै टाढा जानु पर्दैन।

तीन वर्षअघि भारतका मानसिक स्वास्थ्य विषयक एक सम्मेलनमा भाग लिन जाँदा एक जना मानसिक रोग विशेषज्ञ सम्मेलनपछिको भोजमा बेहोस भए। उनलाई अस्पतालमा लगी आइसियूमा भर्ना गरियो। ४० वर्ष मात्र कटेका कसरी मुटुको रोग लागेको होला भने कुरा छलफल गर्दागर्दै थाहा भयो, उनी त अत्यधिक रक्सी पिएर बेहोस भएका रहेछन्। डाक्टर भएको हुनाले अन्य केही समस्या परेको छ कि भनेर विशेष सावधानी अपनाउन उनलाई सधन कक्षमा भर्ना गरिएको रहेछ। केही समयपछि उनी नेपाल फर्के। अति रक्सी खाने उनको बानी छुटाउन रक्सी छुटाउने केन्द्रमा बसे। १५ दिनपछि उनले त्यहीँ आत्महत्या गरे। मानसिक रोग विशेषज्ञले यसरी आत्महत्या गरेपछि मैले विचार गरेकी थिएँ, सायद मानसिक रोग विशेषज्ञका साथीहरुले यस विषयमा सामूहिक छलफल गर्नु हुन्छ होला तर कतै पनि केही छलफल भएन। उनका चिनेजानेका साथीहरुले उनी आफैँ डिप्रेसनबाट पीडित थिए कि भनी आशङ्का व्यक्त गरे। अथवा रक्सी खाने बानी छुटाउने केन्द्रमा बस्दा रक्सी खान नपाएर आत्महत्या गरेका हुन् कि?

यसको बारेमा चर्चा–परिचर्चा हुन सकेन। एक होनहार डाक्टरको आत्महत्यापछि थाहा भयो, उनको रक्सी खाने बानीले उनको परिवारमा कति ठूलो समस्या परेको रहेछ। मानसिक रोग विशेषज्ञ भन्छन्, “मानिसहरु डिप्रेसन भएपछि पनि बढी रक्सी खान्छन् र समस्या झन् जेलिँदै जान्छ।” यदि डिप्रेसन भएर मानिसहरुले त्यसरी धेरै रक्सी खाएका हुन् भने त्यसको उपचार हुनु र्पयो । रक्सी छुटाउने केन्द्रमा ती डाक्टरको उपचार भएन, केवल रक्सीबाट मात्र टाढा राखियो। त्यही सहन नसकेर उनले आत्महत्या गरेको हुन सक्छ कि१ मानसिक रोग विशेषज्ञ आफैँ डिप्रेसनबाट पीडित भएर पनि किन उपचार नगरेका होलान् भन्ने प्रश्न पनि उठ्छ तर सायद रक्सी खाने बानीले उनको रोगलाई छोपिदिएको थियो कि१ जे होस्, रक्सी खाने बानीलाई उपचारको रुपमा लिनेको भने कुनै कमी छैन। तर त्यसले मूल रोगलाई छापिदिने हुनाले अल्पायुमै तिनको ज्यान जाने सम्भावना हुन्छ।

नेपालका अहिलेका एक प्रसिद्ध कविले त्यसरी नै रक्सी खाने बानीले गर्दा स्रोताहरुलाई कविता सुनाउँदासुनाउँदै निदाएका थिए रे१ ‘विराटनगरमा मैले एक कवि गोष्ठीमा ती कविलाई बोलाएको थिएँ। प्रसिद्ध कविको कविता सुन्न स्रोताहरु लालायित थिए तर ती कविले अघिल्लो रात रक्सी बेस्कन खाएर बान्ता गरी ढिलो सुतेका रहेका रहेछन्। बिहानीपख जबर्जस्ती उठाएर उनलाई कवि गोष्ठीमा त ल्याइयो तर गोष्ठीमा बसेपछि अरु कविले कविता सुनाउँदा उनी सोफामा नै लमतन्न परेर घुर्न थाले। उनले कसरी कविता भन्नु? उनलाई उठाएर पुनः होटेलमा नै र्पुयाइदियौँ। उनी सुति नै रहे। ती कवि नेपालमा प्रसिद्ध छन्। मानिस पनि भलादमी नै छन्। रक्सी खाएपछि उनको कविपन नै हराउँछ,’ बैंकमा कार्यरत एक जना व्यक्तिले मलाई सुनाएका थिए।

भारतका प्रसिद्ध सिने कलाकार गुरु दत्त पनि असाध्य रक्सी पिउँथे। वहिदा रहमानसँग उनको असफल प्रेमका कारण उनले रक्सी पिउन थालेको कुरा हामी सानो छँदा सुन्थ्यौँ। सिने प्रत्रिकामा पढथ्यौँ। पछि उनले पनि आत्महत्या गरे। सानो छँदा सुन्ने यस्ता कुराले मलाई खासै छुँदैनथ्यो तर अहिले लाग्छ कतै उनी पनि डिप्रेसनको सिकार थिए कि? वा रक्सी खाएर उनलाई डिप्रेसन भएको थियो कि?

फिल्मी प्रेम प्रसंग सफल नभएपछि रक्सी खाएका देख्दा लाग्छ, मानौँ रक्सी पिउनु खासै नराम्रो कुरा होइन। कुनै दुःख परे वा खुसी भए रक्सी पिउने प्रचलन फिल्म वा टेलिफिल्ममा देखाउँदा यस्तो लाग्छ, मानौँ रक्सी नभए त जीवन नै चल्दैन।

तीन वर्षअघि नेपालमा एक लेखकको मृत्यु भयो। उनी धेरै रक्सी खान्थे भन्ने सबैलाई थाहा थियो। अस्पतालमा मृत्यु हुँदा हर्षाबाट धेरै रगत बगेर उनको मृत्यु भएको खबर छापियो। मैले एक साहित्यकारलाई फोन गरेर सोधेँ, ‘यसरी हर्षाबाट रगत बगेर पनि मृत्यु हुन्छ र?’ ती साहित्यकारले भने, ‘होइन, लेखक धेरै रक्सी खान्थे। उनको कलेजो खत्तम भइसकेको थियो। उनलाई रक्सी विष बराबर हुनेछ भनेर डाक्टरले चेतावनी पनि दिइसकेका थिए तर उनले रक्सी छोडेनन् र शायद त्यो एक प्रकारको आत्महत्या नै थियो। उनको मृत्युको कारण अति रक्सी पिपउनु नै थियो।’

प्रसिद्ध मानसिक रोग विशेषज्ञले रक्सीबारे भनेका छन्, ‘सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिले लाभदायक छैन र हानिकारक नै हो। यसले कवि, कलाकार, नेतालगायत सर्वसाधारणलाई रक्सीले असर पारेको छ र अझ कति व्यक्ति र परिवारलाई यसले बेहाल बनाएको छ। कतिलाई त रक्सीले यौन शक्ति बढाउँछ भन्ने भ्रम पनि हुन्छ। रक्सीले त शारीरिक र मानसिक क्रियालाई दबाउँछ। संवेदनशील मानसिक क्रिया, आत्ममूल्याङ्कन, सतर्कता र संयम पनि दबिन्छन् र परिणामस्वरुप विवेकद्वारा नियन्त्रित बानीको सट्टा उत्तेजना, आक्रमक स्वभाव, उत्ताउलोपन सतहमा ल्याउँछ। रक्सी खाएको व्यक्तिले लाज, डर वा खतरा महसुस नगर्ने हुन्छन्।’

एक पुरुष वा महिलाले रक्सीको कुलतमा फँसेपछि परिवार कसरी नष्ट हुन्छ भन्ने कुरा मैले धेरै देखेकी छु। रक्सी खाने मानिसले गर्दा पाएको दुःख देखेर त्यो मानिस त छिटै मरिदिए पनि हुन्थ्यो भन्ने पनि परिवारका मानिसको इच्छा हुन्छ।

रक्सीले थाकेको बेला शरीरलाई आराम दिन्छ र थकान मेटाउँछ भन्ने भ्रम धेरैलाई छ। त्यसैले लामो दुरीका बसमा चालकले रक्सी नखाए त जिउ दुख्छ, चलाउनै सकिँदैन भनेर रक्सी खाएर बस चलाउँदा दुर्घटना भएका कैयौँ घटना छन्।

मधुमेहबाट पीडित एक जना सरकारी कर्मचारी अत्यधिक रक्सी सेवनले एकचोटी बेहोस नै भएछन्। अस्पतालमा लगेर उनलाई उपचार गराउँदा अति नाजुक अवस्थामा पुगिसकेका थिए। अत्याधुनिक प्रविधि प्रयोग गरेर उनलाई बचाउने र भेन्टिलेटरमा राख्ने कि भनेर डाक्टरहरुले परिवारलाई सोद्धा जवाफ पाइयो, ‘उनी बाँचेर हामीलाई खासै फाइदा छैन। उनलाई पनि आफ्नो जिन्दगीसँग मोह छैन। त्यसैले भेन्टिलेटरमा राखेर पैसा खर्च गर्नुको कुनै औचित्य छैन।’ भोलिपल्ट उनको मृत्यु भयो। परिवारका सदस्यले मृत्युपछिका सबै संस्कार गरे। कर्मचारीले अत्यधिक रक्सीको सेवन नगरेको भए सायद परिवारले उनको जीवन बचाउन हरसम्भव कोसिस गथ्र्यो कि१

रक्सी खाएर अति योग्य कलाकारहरुले सम्पूर्ण जीवन नष्ट पारेका घटना छताछुल्ल छन्। छारे रोग लागेको मानिसले रक्सी खाएर बेहोस भएर जीवन नै सिद्धिएको घटना गाउँघरमा पर्याप्त पाइन्छन्। केही समय मानिसले रक्सी खान्छ तर पछि रक्सीले मानिसलाई खान्छ। जीवन रक्सीलाई अर्पण गर्ने कि जिउने यो त प्रत्येक व्यक्तिको हातमा छ।

होहोरी माओवादी केन्द्रले गर्नेवाला छ। ढिलोचाँडो अध्यक्षात्मक प्रणालीमा नगई देशले धर पाउँदैन। त्यसो भए एमालेलाई निःशुल्क सुझाव– आजैबाट आफ्नो पुरानो शासकीय एजेन्डामा आन्दोलन चलाऊ जसमा माओवादी र मधेसी पनि नआई सुख छैन।

डा. अरुणा उप्रेती ले नागरिक दैनिकमा लेखेका लेख जनहितका लागि साभार १ तस्बिर गुगल बाट

सम्बन्धित सबै

Back to top button
Close