ताजा समाचार


ट्रेन्डिङ :

दिक्तेल बजार व्यवस्थित बनाउन शुरु भयो बाँकी ढलान कार्य

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ श्रावण २९, शुक्रबार १४:१० मा प्रकाशित



दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु गरिएको छ । दाश्रो चरणमा दिक्तेलबजारस्थित सिचाइँ गेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलानको काम मङ्गलबार नगरप्रमुख दीपनारायण रिजालले शुभारम्भ गर्नुभएको हो ।

सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख लागतमा सुर्य विकास जेभी लाहानले २०७८ मङ्सिर मसान्तमा निर्माण सम्पन्न गर्नेगरि २०७८ असार ९ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले ७ सय ६४ घनमिटर ढलान र ४ सय ५३ घनमिटर ग्याभिङ वालको काम गरिने निर्माण कम्पनिले जनाएको छ ।

नगरप्रमुख रिजालका अनुसार नयाँ भेरियन्टसहितको कोभिड(१९ मा निर्माण कम्पनीले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य अपनाउँदै निर्माणका काम गर्न आग्रह गरिएको छ । सडक ढलानको काममा कुनै किसिमका अवरोध वा बिबाद भए तत्काल स्थानीय बासिन्दासँग समन्वयगरि कामलाई तीब्रता दिइने छ ।

हलेसी खबरसँगको कुराकानीमा नगरप्रमुख रिजालले भन्नुभयो,“सडक निर्माणको कामलाई बाधा नपुगोस भनेर नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमसँग समन्वय गरि कामलाई निरन्तर अगाडि बढाइएको छ ।” ढलानको काममा गुणस्तरयूक्त र स्टिमेट बमोजिम काम भए नभएको नियमित रुपमा प्राविधिक टोलीबाट अनुगमन गराइने जनाइएको छ । सडक निर्माण गुणस्तरहीन भए तत्काल नगरपालिकाले कारबाहीको प्रक्रिया अगाड बढाउने नगरप्रमुख रिजालले बताउनुभयो ।

यता,सूर्य विकास जेभीका प्रतिनिधि रोशन राईका अनुसार मंगलबारबाट शुरु गरिएको सडक ढलानको काममा हाल निर्माणस्थलमा एक जेसिबिले काम गरिरहेको छ ।”सम्भवतःआरसिसी ढलानमा लाग्ने आवश्यक निर्माण सामग्री शुक्रबारसम्ममा निर्माणस्थलमा खसाएर निर्माण कार्य अगाडि बढाइने छ”, उहाँले भन्नुभयो,सडक निर्माणको कामलाई निरन्तरता दिन नगरपालिकासँग समन्वय गरेर सिँचाई गेटदेखि त्रिवेणीचोकसम्म यातायात बन्द गरिनेछ ।”

आरसिसी ढलान निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तारण गर्ने ठेकेदार कम्पनीले प्रतिवद्वता जनाएको छ । पहिलो चरण अर्थात आर्थिक वर्ष २०७६र०७७ मा दिक्तेलबजारस्थित रत्नपार्कको किराँतचोकदेखि सिचाइँ गेटसम्म आरसिसी ढलान गरिएको थियो । उक्त सडक खण्ड ढलानको काम गुणस्तरहीन भएको भन्दै दिक्तेल बजारबासीले असन्तुष्टी जनाएका थिए ।

अव्यवस्थित बजारीकरणका कारण दिक्तेलबजारको सडक ढलानका क्रममा कतिपय घर तथा पसलको ढोका छेकिन पुगेको छभने, कतिपय घर तथा पसलको ढोका सडकभन्दा माथि भएको छ । यस्तै त्रिबेणीचोकदेखि मालपोत कार्यालय अगाडिसम्म र पुरानो बैङ्कचोकदेखि झिसेपु मन्दिर जाने सडक खण्ड यसअघि नै सम्पन्न भएर सञ्चालनमा आएको छ ।

यसअघि सो सडक बर्षयामको समयमा हिलम्मे र हिउँदको समयमा धुलाम्मे हुदा सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा ठुलो रहेको यस नगरपालिका भौतिक पूर्वाधार निर्माणमा अगाडी देखिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेल बजार पछिल्लो समय सडक ढलानको कामले तिब्रता पाएसँगै दिक्तेल बजारले मुहार फेर्ने निश्चित छ । हलेसी खबर



प्रतिक्रिया




Top