ताजा समाचार


ट्रेन्डिङ :

प्रदेश १ मा माधव नेपाललाई झलनाथसहित दुई सांसदको मात्रै साथ

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र १०, बिहीबार ०४:२० मा प्रकाशित



धनकुटा, भदौ १० । माधव नेपालले नेतृत्वको नेकपा एकीकृत समाजवादी०लाई प्रदेश १ का नौ जना केन्द्रीय सदस्य र दुई सांसदले साथ दिएका छन्। नेकपा एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालसहित प्रदेश १ का नौजना केन्द्रीय सदस्य एमाले विभाजन पश्चात नेकपा एकीकृत समाजवादी तिर लाग्नुभएको हो ।

नेकपा एमालेभित्र चलिरहेको अन्तरसंघर्षमा नेपाल समूहमा आवद्ध भएका १६ जना केन्द्रीय सदस्यमध्ये ९ जनाले निर्वाचन आयोगमा उपस्थित भई विभाजनको पक्षमा सनाखत गरेका छन । नवगठित पार्टीमा प्रदेश १ बाट २ जना मात्र संघीय सांसदले साथ दिएका छन्। जसमा वरिष्ठ नेता खनाल र तेह्रथुमका भवानी खापुङमात्र नयाँ पार्टीमा आबद्ध हुनुभएको हो । खनाल भारतको दिल्लीस्थित अस्पतालमा उपचाररत रहेकोमा निर्वाचन आयोगले दिल्लीस्थित नेपाली दुतावासमार्फत सनाखत लिइएको छ भने खापुङ आफैँ उपस्थित हुनुभयो ।

प्रदेश १ बाट नेपाल समूहमा रहनुभएका संघीय सांसद योगेश भट्टराई, पवित्रा निरौला, पर्शु मेघी गुरुङ, जयकुमार राई र यज्ञराज सुनुवार भने नेपालको पार्टीमा जानुभएन । केन्द्रीय सदस्यमा खनालबाहेक भोजपुरकी जयन्ती राई, उदयपुरका जगन्नाथ खतिवडा, झापाकी गौरा प्रसाई, मोरङका घनेन्द्र बस्नेत, भोजपुरका राजेन्द्र राई, उदयपुरका बलदेव चौधरी, मोरङका देउमान साम्बाहाम्फे र सुनसरीका महमत महफुज अन्सारी नेकपा एकीकृत समाजवादी मा लाग्नुभएको छ । खोटाङका राजन राई सनाखतको लागि निर्वाचन आयोगमा पुगे पनि यसअघि नयाँ पार्टी दर्ताको लागि दिएको निवेदनमा नाम नभएको भन्दै आयोगले उहाँको सनाखत गराएन ।

एमालेभित्रको अन्तरसंघर्षका क्रममा माधव समूहमा रहेका एमाले सचिवद्वय भीम आचार्य र योगेश भट्टराईसहित केन्द्रीय सदस्य रविन कोइराला, भाष्कर काफ्ले, जीवन घिमिरे, यज्ञराज सुनुवार र धर्मराज निरौलाले पार्टी विभाजनको पक्षमा साथ दिनुभएन। भट्टराई र आचार्य एमाले बैठकमै सहभागी भइसक्नु भएको छ भने अन्य केन्द्रीय सदस्य पनि आजको बैठकमा सहभागी हुने जनाउनु भएको छ । यसअघि भाष्कर काफ्लेले निर्वाचन आयोगमा विभाजनको लागि दिएको निवेदनमा हस्ताक्षर गरेपनि सनाखत गर्न भने उपस्थित हुनुभएन । जनता टाइम्सवाट



प्रतिक्रिया




Top