बझाङमा पहिरोले बेपत्ता भएका चारजनाको शव फेला, तीनजना अझै बेपत्ता

२० असार, बझाङ । बझाङको केदारस्यूँ गाउँपालिका-८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये चारजनाको शव फेला परेको छ ।

शुक्रबार राति गएको पहिरोमा बेपत्ता भएकामध्ये चारजनाको शव भेटिएको र अझै तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चारजनाको शव निकालेका हुन् । पहिरोमा पुरिएका ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठाराको शव भेटिएको केदारस्युँ-८, का वडा अध्यक्ष गणेश बोहराले बताए । राममतीकी १६ वर्षीया छोरी अस्मिता जेठारा अझै पहिरोमा बेपत्ता छिन ।

यस्तै पहिरोमा पुरिएका ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको पनि शव फेला परेको बोहराले जानकारी दिए । राममती जेठाराकी छोरी अस्मिता, स्थानीय १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठारा पनि पहिरोमा बेपत्ता भएका छन् ।

यस्तै पहिरोले मल्लेसीका १८ वटा घर बगाएको छ भने दुई वटा घरमा क्षति पुगेको छ । यसैबीच उद्धारका लागि घटनास्थलतर्फ गएको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ ।

जयपृथ्वी राजमार्गमा गाडी असन्तुलित भएर नालीमा खसेको र तीन जना सैनिक सामान्य घाइते भएको छ ।

सम्बन्धित सबै

Back to top button
Close