६ करोडको लगानीमा उद्योग संचालन भएसंगै सुपारी कृषकलाई दोहोरो फाइदा

उद्योगबाट प्रत्यक्ष रुपमा २० जना र अप्रत्यक्ष रुपमा ६० बढिले रोजगारी पाउने

चन्द्रकान्त वाग्ले, झापा .

झापाको अर्जुनधारा १० स्थित सेतीपानी लस रोडमा ६ करोडको लगानीमा सुपारीको पातको टपरी लगायत विभिन्न प्रकारका सामग्री बनाउने हिमालयन लस उद्योग संचालनमा आएको छ ।
गोकुल प्रसाई, घनश्याम प्रसाई, अशोकमान कपाली, राजन पोख्रेल र श्याम बहादुर बस्नेत गरी ५ जनाको सयुक्त लगानीमा संचालनको औपचारिक शुरुवात हुनलागेको सो उद्योगबाट प्रत्यक्ष रुपमा २० जना र अप्रत्यक्ष रुपमा ६० बढिले रोजगारी पाउने संचालक घनश्याम प्रसाईले बताए । उनका अनुसार खेर गइरहेको सुपारीको पातबाट टपरी, प्लेट, चम्ची, पार्सलबक्स, लगायत विभिन्न ३३ प्रकारका सामाग्री उत्पादन गर्ने बताए । १६ कठ्ठा क्षेत्रफलमा रहेको सो उद्योगले वातावरणमा पनि कुनै असर नपुर्याउने संचालकहरुको भनाई रहेको छ ।
स्थानीय क्षेत्रमै पाइने सुपारीबाट कृषकले आम्दानी त लिन्थे नै अब पात पनि बिक्न थालेपछि कृषकलाई दोहोरो फाइदा हुने भएको भन्दै स्थानीय कृषक दिवश खतिवडाले खुशी व्यक्त गरे ।
सुपारीको कच्चा पदार्थ उद्योग भित्र ल्याइसकेपछि त्यसलाई हिट एण्ड प्रोसेस गरी किटाणु मार्ने र त्यसलाई अल्ट्राभाइलेन्ट मेशिनमा हाली शतप्रतिशत किटाणु नाश गरि त्यसबाट विभिन्न प्रकारका खानेकुरा खाने प्लेट लगायतका समाग्री बनाउने संचालकले बताएका छन । उद्योगमा प्रयोग हुने पानीलाई प्रशोधन गरी सोही पानी फेरी प्रयोग गर्न मिल्ने बनाइएको बताउँदै आगामी केही वर्षमानै सोलार प्रविधिबाट उद्योग संचालनमा ल्याइने संचालक अशोकमान कपालीले बताए ।
आफ्नो उद्योगबाट उत्पादित वस्तु स्वदेश तथा अमेरीका, जापान, क्यानाडा, अष्ट्रेलिया, बेलायत अन्य देश र युरोपका मुलुकहरुमा पनि निर्यात हुने भएकोले विदेशी मुद्रा नेपाल भित्र्याइ नेपालको अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने संचालक गोकुल प्रसाईले बताए । केही समय अघि जापानबाट आएको एक टोलीले समेत उद्योग भ्रमण गरी जापानमा यसको बजारीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको संचालक श्याम बहादुर बस्नेतले जानकारी दिए ।
उद्योग पूर्ण रुपमा संचालन हुन थालेपछि दैनिक १० हजारको हारहारीमा सामाग्री उत्पादन हुने बताउँदै आफूँले विदेशमा सिकेको सीप स्वदेशमानै प्रयोगमा ल्याएको संचालक राजन पोख्रलले बताए । केही समय अघि उनको एकल लगानीमा खोलिएको एरिकाना उद्योगलाई समेत हाल यही उद्योगमा मर्ज गरिएको छ ।
पछिल्लो समय प्लास्टिक जन्य सामाग्रीको बढ्दो प्रयोगले वातावरणमा असर परिरहेको बेला उपभोक्ताको स्वास्थ्य र वातावरणमा प्रत्यक्ष फाइदा पुर्याउने यस्ता उद्योगलाई स्थानीय तह, प्रदेश सरकार तथा केन्द्रीय सरकार पनि संरक्षण तथा प्रर्वद्धनमा लाग्नुपर्ने देखिन्छ ।

सम्बन्धित सबै

Back to top button
Close