कर्मचारी युनियनमा बिनाजानकार राखेकोमा संगठनका कर्मचारीको यस्तो विज्ञप्ति

  • अनलाइन आवाज सम्बाददाता ।

खोटाङ, १५ साउन । नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीहरुले बिना जानकारी आफूहरुको नाम नेपाल निजामती कर्मचारी यु्नियन (सङ्घ)मा राखेको भन्दै आपत्ति जनाएका छन् । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)को दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्तरीय तदर्थ समिति गठन गर्नेक्रममा बुधबार बिना जानकारी आफूहरुको नाम पनि समाबेश गरेर सार्वजनिक गरेको भन्दै बिहिबार विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका रोजगार संयोजक सुनिल पन्थी, अमिन सुमनकुमार देव, अहेवहरु रुपककुमार बुढाथोकी र रत्नकला बुढाथोकी तथा कार्यालय सहयोगी चन्द्रकुमार खत्रीले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको नाम तत्काल हटाउन आग्रह गरेका छन् । समितिका राखिएका भनिएका सुशिला र रत्नकला सो कार्यक्रममा उपस्थित नै नभएको विज्ञप्तिमा जनाइएको छ ।

सुनिलले अस्वीकार गरेको र सुमनकुमार, रुपककुमार तथा चन्द्रकुमारलाई असहज वातावरणकाबीच वास्तविकता नबुझाइ सदस्यता दिएको जनाइएको छ । आगामी दिनमा स्वतन्त्रता पूर्वक आफूले चाहेको सङ्गठनमा आवद्ध भएर काम गर्ने विज्ञप्तिमार्फत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

युनियन सङ्घले रुपकलाई उपाध्यक्ष, सुमनकुमारलाई सहसचिव तथा सुनिल, सुशिला, रत्नकला र चन्द्रकुमारलाई सदस्यमा राखेको थियो । युनियनले बुधबार दिनेश राईको अध्यक्षतामा ११ सदस्यीय नगरसमिति गठन गरेको थियो ।

पछिल्लो समय नेपाली काँग्रेस निकट एक कर्मचारी कार्यालयमा हाजिर गरेर जनताको काम नगरी दिनभर पार्टीको काममा खटिने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार दिनभर दिक्तेल बजारको चोक तथा होटल र चिया पसलमा भेटिने उनले सोझासिधा व्यक्तिलाई आश्वसन देखाएर पार्टी प्रवेश गराउने काम गर्दै आएका छन् । हलेसि खबर बाट साभार

सम्बन्धित सबै

Back to top button
Close